काठमाडौँ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद सहभागी नहुने भएका छन्।
संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा सहभागी हुन सबै सांसदलाई मेसेज गरेर बोलाइएको छ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसदीय दलको बैठकमा नेपाल पक्षका सांसद नजाने बताए। नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा चलिरहेको छ। भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले संसदीय दलको बैठकमा नजाने बताएका हुन् ।
दुई दिने राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाह पाउँदापाउँदै प्रधानमन्त्रीअ ओलीले संसदीय दलको बैठक बोलाएकाले उपस्थित हुन नसकिने उनको भनाइ थियो।
‘संसदीय दलका नेता, प्रधानमन्त्री, संसदीय दलको कार्यालयलाई यो कुरा राम्रोसँग जानकारी थियो कि एमालेको राष्ट्रिय कार्यकर्ता भेला भइरहेको छ। संघीय सांसद, प्रदेश सांसद र संसदीय फाँटका व्यक्तिहरूको यहाँ उपस्थिति छ भन्ने उहाँहरूलाई राम्रोसँग थाह थियो’, भट्टराईले भने, ‘हामीले राष्ट्रिय कार्यकर्ता भेलाको कार्यव्यस्तताले भोलिको बैठकमा उपस्थित हुन सक्दैनौं भनेर जानकारी गराएका छौं।’