नेपाल समूहको निर्णय : भेला नरोक्ने, चियापानमा नजाने

काठमाडौं। नेकपा एमालेको माधव समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । आज दिउँसो अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूसँगको छलफलपछि नेपालसमूहले बानेश्वरस्थित अर्याल होटलमा गरेको केन्द्रीय सदस्य र सांसदहरुको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।

आजको छलफलमा अध्यक्ष ओलीले कार्यकर्ता भेला स्थगित गरेर चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाल पक्षलाई आग्रह गरेका थिए । नेपाल पक्षले भने गत शुक्रबार ओलीले एकलौटी रुपमा गरेको केन्द्रीय कमिटी पुनर्गठनको निर्णय फिर्ता गरे भेलाको आवश्यकता नै नपर्ने बताएको थियो । तर,ओली शुक्रबारको निर्णय सच्याउन तयार नभएपछि नेपाल पक्षले भेला नरोक्ने निर्णय गरेको हो ।

यसैबीच मंगलबार अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रमका आयोजना गरेपनि माधव समूहका नेताहरु उक्त चियापानमा नजाने भएका छन् । ओली बोलाएको चियापानमा आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान निर्देशन दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफलको विषयबारे जानकारी गराएका थिए । ओलीसँगको छलफल निस्कर्षमा नपुगेकाले कुनैपनि कार्यक्रम नरोकिने निर्णय नेपालले बैठकमा सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *