माओवादी केन्द्रले कांग्रेस र जसपासंग छलफल गरेर सरकारबारे निर्णय लिने

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेर मात्र सरकारबारे निर्णय गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकले सदन र सरकार सञ्चालन लगायतका विषयमा प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

माओवादीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता भने लिएको छैन । ‘सरकारबारे कुनै निर्णय भएको छैन । प्रतिगमनका विरुद्ध आन्दोलन गरेका दलहरुसंग घनिभूत छलफल गरी आवश्यक निर्णय गर्ने आजको बैठकको निर्णय छ’, स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने ।

त्यस्तै, आजको बैठकले चैत्र १ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ । चैत्र २ गते प्रदेशस्तरको कार्यकर्ता प्रशिक्षण गर्ने निर्णय भएको पोखरेलले बताए । ‘संगठनात्मक काम अगाडि बढाउन र बदलिँदो राजनीतिक परिस्थितिबारे कार्यकर्तालाई प्रशिक्षित गर्न चैत्र २ गते प्रदेशस्तरको प्रशिक्षण चलाउने निर्णय भएको छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *