पुन:स्थापित संसद्को पहिलो बैठक: प्रचण्ड-नेपालको बहिष्कार, कांग्रेस र जसपाको अवरोध

काठमाडौँ। सर्वोच्च अदालतले विघटनलाई बदर गरेपछि आइतबार बसेको पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । पहिलो दिनको बैठकमा सत्तारुढ दलको प्रचण्ड-नेपाल समूहले बहिष्कार गर्यो भने विपक्षी कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गर्यो।

दुवै पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालनको कार्यशैलीप्रति सदन खुलेकै दिन चर्को असन्तुष्टि र विरोध जनाएका हुन्।

बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए। लगत्तै प्रचण्ड–माधव समूहका सांसदहरु उठेर विरोध गरे। सभामुखले समय दिएपछि सांसद भीम रावलले कार्यसूचीमा अध्यादेशहरु पनि राखिएकोमा विरोध जनाए। सर्वोच्चको अदालतको पछिल्लो फैसलाले स्वयंम प्रधानमन्त्रीको दल कुन हो भन्ने प्रश्न उठेकाले त्यो विषय टुंगो नगरी अध्यादेश ल्याउन नहुने उनको तर्क थियो।

उनले कार्यसूची संशोधनधन गर्न माग गरे। तर अध्यादेश संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सभामुख सापकोटाले त्यो माग अस्वीकार गरे। लगतै प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक बहिस्कार गरे।

कांग्रेसले संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेको थियो। कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिँएसँगै कांग्रेस सचेतक पुष्पा भुसालले विरोध जनाउँदै अध्यादेशलाई स्वीकार गर्न नसकिने बताएकी थिइन्। त्यस्तै सचेतक बालकृष्ण खाँडले पनि अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने भन्दै सदन पेश गर्न नदिने उल्लेख गरे।

कांग्रेसलाई प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले पनि साथ् दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *