विप्लवको प्रशंसा गर्दै ओलीले भने, ‘शान्तिपूर्ण राजनीतिमा सफलता मिलोस्’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँगको सहमति सेफ ल्यान्डिङ भएको टिप्पणी गरेका छन्। सरकार र विप्लव समूहबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विप्लव नेतृत्वको पार्टीले कुनै फोर्स ल्यान्डिङ, क्रस ल्यान्डिङ नभई सेफ ल्यान्डिङ गरेको बताएका हुन्।

कार्यक्रमा बोल्दै उनले सम्झौता राज्य र पार्टीका तर्फबाट भएको ठूलो ऐतिहासिक कदम भएको बताए। उनले नेपाल शान्तिपूर्ण यूगमा प्रवेश गरेको र अब कुनै द्वन्द्वरत पक्ष नभएको पनि दाबी गरे ।

उनले नेकपासँगको सहमतिलाई विशेष उपलब्धीको संज्ञा दिए। विप्लवसँगको वार्ताको सुरुवातको जग ८–१० वर्ष पहिले नै भएको स्मरण गर्दै उनले त्यो जग आज यस ठाउँमा पुगेको बताए। ‘८-१० वर्ष पहिले नै जस्तो लाग्छ विप्लवजी र मेराबीच गम्भीर वार्ता भएको थियो। हामीबीच त्यतिबेलै पनि आपसी विश्वास थियो’, प्रधानमन्त्री ओलीले भने आजको अवस्था भनेको त्यसैको मूर्तरूप हो।’

प्रधानमन्त्री ओलीले विप्लवलाई साहसिक नेता भन्दै प्रशंसा पनि गरे। उनले शान्तिपूर्ण राजनीतिमा विप्लव सफल हुनेमा पनि विश्वास व्यक्त गरेका थिए। ‘मलाई लाग्छ उहाँ (विप्लव)लाई यसमा पौडी खेल्न राम्रोसंग आउँछ’, उनले भने ।

तीनबुँदे सम्झौतालाई पालना गर्न राज्य प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले जेलमा रहेका सबै छुट्ने शिलशिला सुरु भइसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *