‘बहुमत पक्षले आधिकारिकता पाउनेमा शंका छैन’

काठमाडौं । प्रचण्ड–माधव नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन भित्रै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने बताएका छन्।

पार्टीनिकट पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उनले केही दिनभित्रै पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफूहरुलाई दिनेगरी आयोगले फैसला गर्ने उनले सुनाए।

उनले भने, ‘अर्को सेटिङ पनि भत्किँदैछ, निर्वाचन आयोगवाला सेटिङ। हेर्नुहोला, मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु केही समयभित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम उहाँहरूकै हो भन्ने फैसला हुन्छ। यसमा एक इन्चपनि शंका गर्नु पर्दैन।’

त्यसैगरी, अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकाले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताए।

उनले भने, ‘यो पार्टीको सदस्य नभएको व्यक्तिले, संसदीय दलको नेताको पनि दाबा गरिरहेका छन्। अनि मुख्य सचेतकबाट देव गुरुङजीलाई हटाएको पनि सुन्नु भाछ। अधिकार नै नभएको कुरा कहाँ बाट हटाउने ?’

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुने बताए। कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडि जान नसक्ने भन्दै उनले आफूहरुले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *