काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले सरकार नछोड्ने बताएका छन्। उनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती पनि दिए।
शुक्रबार आफू पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपा (प्रचण्ड–माधव)लाई चुनौती दिएका हुन्। उनले सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताए।
पोखरेलले ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ।
पोखरेलले सर्वोच्च अदालतको फैसलाप्रति पनि असहमति जनाए। उनले भने, ‘तिमी भन्दा शक्तिशाली न्यायाधीशहरु जनता हुन्। जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी। त्यसको तयारीमा छौं।’ उनले सर्वोच्चको फैसलाकै कारण मुलुकको विकास र समृद्धिमा बाधा पुग्ने पनि बताए।