प्रदेशसभा भंग गर्ने मुख्यमन्त्री राईको धम्कि

काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा भंग हुनसक्ने बताएका छन्। सरकारलाई काम गर्न अप्ठेरो पारेको भन्दै उनले प्रदेश सभा भंगको धम्कि दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले काम गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका थिए। ओली समूहका नेतासमेत रहेका राईले पनि त्यस्तै आरोप लगाए। उनले प्रदेश सरकारलाई काम गर्न नदिने क्रम निरन्तर रहे प्रदेशसभा भंग हुन सक्ने अवस्था आउने बताएका हुन्।

बिनाकारण अविश्वास प्रस्ताव दर्ता भएको, सरकारको कमजोरीबिना खुट्टा तान्ने र बाँध्न खोज्ने काम भइरहेको उनको भनाइ छ। ‘यस्तो संकेत केन्द्र सरकारमा पहिले थियो, अहिले प्रदेशमा छ’, मुख्यमन्त्री राईले भने, ‘यस्तै अवस्था रहे मैले नचाहेर पनि प्रदेशसभामा भंग हुनसक्छ।’

उनले संघीय सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिने क्रम जारी रहेको आरोप लगाउंदै प्रदेशसभा भंग हुने अवस्था आए त्यसको जिम्मेवार नेकपाको प्रचण्ड–नेपाल समूह हुने बताए।

मुख्यमन्त्री राईविरुद्ध पुस १२ मा प्रचण्ड –नेपाल समूहका ३७ सांसदले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए। हालसम्म प्रदेशसभामा अविश्वास प्रस्ताव टेबल भएको छैन। यसअघि बोलाइएको बैठक मुख्यमन्त्री राईकै कारण स्थगित भएको थियो। आइतबार बैठक बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *