एमिकसका खरेलको राय- ‘असंवैधानिक विघटन बदर गर्नुपर्छ !’

काठमाडौँ। वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले संविधानले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन्। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा एमिकस क्युरी (अदालतको सहयोगी)को तर्फबाट बुधबार राय दिने क्रममा खरेलले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताए ।

संविधान विपरित भएको विघटनको निर्णय बदर गर्न राय दिएका बरिष्ठ अधिवक्ता खरेलले संविधानले उल्लेख नगरेको अधिकार प्रधानमन्त्रीलाई छ भन्न नमिल्ने बताए ।

संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई विशेषाधिकार हुने सरकारपक्षीय कानुन व्यवसायीको भनाईतर्फ संकेत गर्दै उनले नेपालको संविधानले संसदीय सर्वोच्चता नभई संवैधानिक सर्वोच्चता मानेको पनि बताए ।संविधानको धारा ७६ र ८५ मा बाहेक विघटनको कुरा देखाउन नसकेको बताउँदै संसदीय व्यवस्थामा प्रधानमन्त्रीले गर्न पाउँछ भने पनि ७६ बाहेक अन्त देखाउन नसकेको उनको भनाइ छ ।

विघटन बदर गर्नुपर्ने संवैधानिक र कानुनी आधार दिँदै खरेलले संविधानको धारा ७६ (५) बाहेक बहुमतको प्रधानमन्त्री अन्यत्र जानै मिल्दैन भन्नुभएको छ । तसर्थ, विघटन गर्दा संविधानभन्दा बाहिर जाने काम भएकाले यो खारेज हुनुपर्छ ।

बहसका क्रममा उनको भनाइ थियो, ‘संसद विघटन गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न संवैधानिक हो । त्यहाँभित्र राजनीति जोडिन सक्छ । राजनीतिक प्रश्न भएकाले बोल्दै मिल्दैन भन्ने होइन । यसलाई ग्रहण गर्न मिल्छ । विघटनलाई अदालतले व्याख्या गर्नुपर्छ ।’

खरेलले संसद विघटनको मुद्दा संवैधानिक भएकोले त्योसँग राजनीतिक प्रश्न जोडिएर आउनु स्वाभाविक भएपनि त्यसलाई राजनीतिक प्रश्न भन्न नमिल्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *