प्रतिनिधिसभा विघटनले जनतामा निराशा छायो : उपराष्ट्रपति पुन

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा विघटनको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। बुधबार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टि पोखेका हुन् ।

प्रतिनिधिसभा विघटन सम्बन्धमा पहिलो पटक धारणा सार्वजनिक गर्दै उपराष्ट्रपति पुनले मुलुकमा राजनीतिक र संवैधानिक संकट गहिरिंदै जाँदा अस्थिरता छाउने भन्दै चिन्ता व्याक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटनपछि मुलुकमा गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको पनि बताए । उनले भने,‘नेपाली जनता राजनीतिक स्थायित्व, समृद्धि, विकास निर्माण, आर्थिक सामाजिक जीवनमा परिवर्तनका साथै संविधानको पालन, संरक्षण र संविधान प्रदत्त अधिकार प्रयोग गर्न चाहन्छन् ।’

उनले संविधान र कानुनको पालन गर्नु सबै नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै भने,‘देश अहिले राजनीतिक संकटको भूमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ । यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन् ।’

नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट पत्रकारहरुले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध’ भनेको पनि उनले उल्लेख गरे ।

उनले थपे, ‘पूर्वप्रधानन्यायधीशहरु, पूर्वन्यायधीशहरु, संविधानविद्हरु, नागरिक समाज, प्रायस् राजनीतिक पार्टीहरु, संघ संस्थाहरुका साथै अधिकांश तपाईं पत्रकार मित्रहरुले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ ।’ उनले जनतामा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो संकेत नभएको प्रस्ट पारे । ‘नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै संविधानमाथि प्रहार गरियो, देशलाई भूमरीमा पारियो भनी प्रश्न उठ्ने गरी परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद् कुरा हो । संविधानको संरक्षण र पालन सबै संघ संस्था तथा आम नागरिकको कर्तव्य हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *