प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको शक्ति प्रदर्शन, शीर्ष नेताले के भने ?

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काइरहेको नेकपा (बहुमत)ले बुधबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । देशभरबाट हजारौँ कार्यकर्ता काठमाडौँ उतारेर नेकपाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध खवरदारी गरेको हो ।

नेकपाले उपत्यकाका बिभिन्न पाँच स्थानबाट जुलुस निकालेको थियो । हजारौँको संख्यामा निस्केको जुलुस रत्नपार्कमा पुगेर मूल जुलुसमा परिणत भइ भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गरे।

विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै खुट्टा नकमाउन सचेत गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको भन्दै उनले ३० दिने हदम्याद काइते तर्क मात्र भएको बताए ।

उनले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने प्रचण्डको चेतावनी छ ।

आफूले बोल्दा अदालतको अवहेलना भएको पनि भन्ने गरेको भन्दै प्रचण्डले भने, ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर । निर्वाचन आयोग खुट्टा नकामाऊ, काइते कुराको पछि नलाग ।’

संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन भन्ने चाहेको उनले बताए । प्रचण्डले प्रधानमन्त्री ओलीलाई पनि अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहरदबार घेर्न आउन नपरोस् भनेर चेतावनी दिएका छन् ।

अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताए । ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले देशैभर भएका ओली विरुद्धका आन्दोलनले ओली कमजोर भइसकेको पनि उल्लेख गरे । उनले मदन भण्डारीको नाम जप्ने ओली अहिले पशुपतिको मन्त्र जप्नतिर लागेको टिप्पणी गरे । ‘केपी ओलीजी तपाइँ मदन भण्डारीको नाम जप्नुहुन्छ, त्यो नाम विर्सनु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ । पशुपतिनाथले राम्रो गर्नेलाई मात्र रक्षा गर्छन् । पाप गर्नेलाई पशुपतिले रक्षा गर्दैनन्, चेतना भया’ उनले चेतावनी दिए ।

नेपालले केपी ओलीसँग केही हजार मानिस बाहेक केही नरहेको भन्दै ओली समूह निरास भैसकेको बताए । ओली गणतन्त्र, संघीयता, समावेशीता मन नपराउने भएकाले उनी प्रतिगमनका प्रतिक र ज्ञानेन्द्र पथमा लागेको उनको भनाइ छ ।

बरिष्ठ नेता झलनाथ खनालले आगामी चुनावमा ओलीको जमानत जफत हुने दावी गरे । उनले अबको दुई वर्षमा निर्वाचन हुने र त्यसबेला ओलीको जमानत जफत हुने बताएका हुन् ।

खनालले भने, ‘मिस्टर ओली तपाईंको जमानत जफत हुनेछ । दुई वर्षमा चुनाव हुनेछ । दुई तिहाइ होइन त्यसबेला जमानत जफत हुन्छ ।’

उनले प्रचण्ड-नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको पनि प्रष्ट पारे । लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ । उनले प्रतिगमन विरुद्धको आन्दोलनले केपी ओलीको तानाशाहलाई समाप्त पार्ने चेतावनीसमेत दिए ।

उनले भने, ‘यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किने छ । जनआन्दोलनको आगो दन्किने छ । आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारी छोड्ने छ ।’

अहिलेको आन्दोलन नेकपाको दुई तिहाई गुटको आन्दोलन नभएको र प्रतिक्रान्ति र तानाशाही केपी ओलीका विरुद्ध भएको भन्दै उनले आन्दोलनको बेग नरोकिने बताए ।

विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको सरकार अवैधानिक भएको बताए । उनले संसद नरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर आफू कामचलाउ सरकार बन्न सक्ने अवस्थामा त्यसो नगरेर अवैधानिक बनेको बताएका हुन् ।

उनले तानाशाह बन्ने पथमा हिँडेका ओलीलाई समयमै आफूहरुले चिन्न नसकेको भन्दै जनतासँग क्षमा पनि मागे । आगामी दिनमा आफूहरु अझ परिवर्तित र व्यवहारिक भएर अघि बढ्ने उनको प्रतिवद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *