प्रधानमन्त्रीका वकिल भन्छन्-‘ओलीलाई राजालाई जत्तिकै अधिकार छ’

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दाको सुनुवाईका क्रमममा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले प्रधानमन्त्रीलाई राजालाई जत्तिकै अधिकार संविधानले दिएको बताएका छन्।

प्रधानमन्त्रीको कदमको बचाउ गर्दै न्यौपानेले संसद विघटन प्रधानमन्त्रीको अवशिष्ट अधिकार भएको बताए।
आज संवैधानिक इजलासमा बहस गरेका प्रधानमन्त्रीका १३ वकिलमध्ये उनी पहिलो थिए।

‘हाम्रो अहिलेको संविधानको धारा ५८ र २०१९ सालको संविधानको धारा ९० ले एउटै कुरा बोलेको छ श्रीमान। त्यो बेला अवशिष्ट अधिकार श्री ५ मा भनिएको थियो। अहिले त्यही अधिकार प्रधानमन्त्रीलाई दिइएको छ’, उनले भने।

संविधानको धारा ५८ को व्याख्या गर्दै उनले स्थानीय, प्रदेश र संघको अधिकारको साझा सूचीमा नभएका अधिकार संघ सरकारले प्रयोग गर्ने र त्यसको प्रयोग प्रधानमन्त्रीले गर्ने जिकिर गरे ।

उनले संविधानले निषेध नगरेको अवस्थामा प्रधानमन्त्रीलेअवशिष्ट अधिकार प्रयोग गरेर विघटनको सिफारिस गर्नसक्ने बताए।

उनले भने, ‘कि भन्न पर्‍यो संविधानले विघटनलाई रोक लगाएको छ भनेर कि अवशिष्ट अधिकार प्रयोग गर्न संघीय सरकारलाई होइन फलानो पदाधिकारीलाई दिएको छ भन्नु पर्‍यो।’

प्रतिनिधिसभा विघटनको मुद्धामा माघ ४ गतेदेखि संवैधानिक इजलासमा लगातार सुनुवाई भैरहेको छ। माघ २० गतेदेखि सरकार पक्षीय कानून व्यवसायीहरुले बहस गरिरहेका छन्। बुधबार १४ जनाले बहस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *