आम हडतालको सफलताले प्रतिगमनविरुद्ध संघर्ष गर्न थप उत्साहित बनाएको छ :नेकपा

काठमाडौं । नेकपा (प्रचण्ड-माधव)ले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको निष्कर्ष निकालेको छ। बिहीबार साँझ विज्ञप्ति जारी गर्दै केन्द्रीय संघर्ष समितिले आमहड्ताल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएको छ।

समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आमहड्तालमा प्राप्त सर्मथनले प्रतिगमनविरुद्ध संघर्ष गर्न अझै उत्साहित बनाएको पनि उल्लेख छ ।

‘आमहड्ताल सफल बनाउने क्रममा प्राप्त जनसमर्थन सद्भाव, सहभागिता र ऐक्यवद्धताका लागि हाम्रो पार्टी आम जनसमुदायलाई हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्दछ। साथै उच्च मनोबलका साथ् आन्दोलनको जिम्मेवारी सम्हाल्दै कार्यक्षेत्रमा खट्नुभएका नेता तथा कार्यकर्तालाई पनि धन्यवाद दिन चाहान्छ,’ विज्ञप्तिमा भनिएको छ।

आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा उल्लेख छ।

‘शान्तिपूर्ण रुपमा आयोजित आम हड्ताललाई बद्नाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेठ निम्त्याउन सरकारले गरेको हर्कतलाई पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ’, नेकपाले भनेको छ, गृहमन्त्रालयका नाममा वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुराशययुक्त प्रयत्नका वावजुत आजको आमहड्ताल शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।’

नेकपाले आमहड्तालका क्रममा गिरफ्तार भएकाहरुलाई अविलम्ब रिहा गर्न पनि माग गरेको छ। विज्ञप्तिमा पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य हितमान शाक्य, विजय पौडेल, अमृता थापा, कृष्ण केसी, प्रतापलाल श्रेष्ठ लगायत सयौं कार्यकर्ता गिरफ्तारमा परेको जनाइएको छ। साथै स्थायी कमिटी सदस्य मातृका यादव, केन्द्रीय सदस्य रामचन्द्र झा, लगायतका नेता-कार्यकर्तामाथि दमन गर्दै गम्भीर घाइते बनाएको भन्दै नेकपाले सरकारको निरङ्कुश रवैयाको भर्त्सना गरेको छ।

नेकपाले केही असामाञ्जस्यताका कारण संचारकर्मीहरुमा परेको मर्कामा दुख व्यक्त गरेको छ। नेकपाले शान्तिपूर्ण आन्दोलनमार्फत सरकारका प्रतिगामी कदमलाई परास्त गर्न सकिने भन्दै आन्दोलनमा गोलबद्द हुन् जनतालाई अपिल पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *