ओली र थापासंग डराउदैनौं : नेता पुन

काठमाडौँ। नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् ।ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने उनको भनाइ छ ।

संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल)ले गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले केही समय अघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाउन आदेश दिएको खबर सुनेको भन्दै आपत्ति जनाए ।

बिहीबार बुटवलमा र केही दिनअघि काठमाण्डुको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने पनि दाबी गरे ।

सेना र प्रहरी जस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे । ‘सेनाका बख्तरबन्द गाडी र ट्याङकर निकालेर जनता तर्साउन खोजिएको छ । हामी सबै लडेर आएका छौं । जनता लडेर आएको छ’, पुनले भने, ‘खबरदार, केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन् । पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ ?’

पुनले मुलुकमा राजतन्त्र र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षत र सचेत रहेकाले धम्कीसँग नडराउने बताए ।राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिए ।

आफूहरुको आन्दोलन केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको पुनको भनाइ छ । ‘म ओली सरकारमा मन्त्री थिएँ, तर, लोकतन्त्र बचाउन राजीनामा दिएर सडकमा आएको हुँ । सत्ताको लडाईं होइन, लोकतन्त्रका लागि हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *