संवैधानिक आयोगका नियुक्ति अस्वीकार्य : जसपा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले संवैधानिक आयोगमा भएको नियुक्तिलाई गैरलोकतान्त्रिक कदम भन्दै अस्वीकार गर्ने बताएको छ। पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बुधबार एक विज्ञप्ति जारी गर्दै नियुक्तिलाई दुर्भाग्यपूर्ण भन्दै आपत्ति पनि प्रकट गरेका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक अंग, निकाय तथा आयोगहरुमा गरेको नियुक्तिहरुले हाम्रो पार्टीको ध्यान गम्भीररुपमा आकर्षित गरेको छ,’ खतिवडाले भनेका छन्, ‘यस्ता नियुक्तिहरुलाई संविधान मर्म, भावना र व्यवस्था अनुरुप भएका वैधानिक नियुक्त मान्न र मान्यता दिन सकिँदैन।’

संवैधानिक परिषद्को गणपूरक संख्या नपुगेको, प्रतिपक्षी दलको नेता तथा सभामुख अनुपस्थित रहेको, प्रधानन्यायाधीशको समेत सहमति नरहेको बैठकबाट महत्वपूर्ण संवैधानिक पदमा सिफारिस गर्ने संसदीय सुनुवाइको प्रावधानलाई मिच्दै नियुक्ति दिने र पदस्थापना गर्ने–गराउने कार्य सर्वथा असंवैधानिक, अवान्छित र गैरकानुनी भएको जसपाको भनाइ छ।

‘सरकार एकातिर आफैँ चुनावको घोषणा गर्ने अर्कोतिर निर्वाचन कानुन र आचारसंहिताले यस्तो समयावधिमा गर्न नहुने भनेका नियुक्ति, सरुवा र बढुवा गर्दै हिँड्ने कुराबीच कुनै संगति छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबीच भएको भूमि तथा सुकुमबासी आयोगसम्बन्धी सबै नियुक्तिहरू उत्तिकै अवैधानिक छन्।’

सरकारले जानीबुझीकन यस्ता अवाञ्छित कार्यहरु गरेर सरकार संविधान, ऐन, कानून, आचारसंहिता र स्थापित लोकतान्त्रिक मूल्य, मान्यता तोडेको जसपाको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *