काठमाडौँ। नेकपा (प्रचण्ड–माधव)ले भोलीका लागि घोषणा गरेको आमहड्तालमा स्कुल, कलेजका परीक्षाहरु प्रभावित नहुने सो पार्टीले जानकारी दिएको छ। बुधबार आमहड्तालबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने पनि प्रष्ट पारेका हुन् ।
सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको भन्दै श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताए ।
उनले आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भएपनि प्रतिनिधिसभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको बताए ।
‘सरकारले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक परिषदमा बलमिच्याँइ गरेको छ । यो निरकुशतन्त्रको पराकाष्ठा हो’,श्रेष्ठको भनाइ छ ।
सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा पनि अवरोध नगर्ने नेकपाले स्पष्ट पारेको छ ।