चुनाव चिन्ह फ्रिज गर्ने षड्यन्त्र भइरहेको अध्यक्ष नेपालको दावी

काठमाडौँ। नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष माधव कुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुसंगै रहेको दोहोर्याएका छन्। केन्द्रीय समितिको दुई तिहाई संख्या रहेको पार्टी नै मूल पार्टी हुने भन्दै उनले आधिकारिकता आफूहरुले नै पाउनुपर्ने जिकिर पनि गरे।

अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र सूर्य चिन्ह फ्रिज गर्ने षड्यन्त्र भइरहेको पनि बताए। सोमबार नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पार्टीको आधिकारिकताको बारेमा षड्यन्त्र भइरहेको छ । निर्वाचन चिह्न नदिने, फ्रिज गर्ने षड्यन्त्र भइरहेको छ’, उनले भने।

निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले केपी ओली समूहसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको बताए। उनले आफूहरूलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका हुन्। ‘मूल घर हाम्रो हो, कसैले आँखा लगाउन पाईंदैन’, उनले भने।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा व्यवाहारिक रुपले फुटिसकेको छ। दुवै पक्षले अलग-अलग केन्द्रीय कमिटी बैठक राखेर एक-अर्कालाई कारवाही समेत गरेका छन्। प्रचण्ड-माधव पक्षले ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्षमा मनोनित गरेको छ भने ओली पक्षले प्रचण्डको कार्यकारी अधिकार खोसेको छ। निर्वाचन आयोगले भने दुवै पक्षलाई आधिकारिकता दिन अस्वीकार गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *