संसद बैठक राखेर ओलीलाई कारवाही गर्छौं : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले आफ्नै खुट्टामा बन्चरो हानेको बताएका छन्। उनले प्रधानमन्त्रील़ाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै ओलीले कलंकको टीका लगाएको टिप्पणी गरे।

अध्यक्ष प्रचण्डले ओलीले संसद विघटन गरेको नभई संविधान विघटन गरेको बताए। उनले भने, “७० वर्षदेखि लोकतन्त्रवादी र कम्युनिष्टहरुले लडेर ल्याएको लोकतन्त्रमाथि हमला गरिएको हो। यो सार्वमौम नेपाली जनतामाथिको हमला हो।” उनले यसको प्रतिकार गर्नु सबैको ऐतिहासिक जिम्मेवारी भएको बताए।

शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जरुरी पर्यो भने संसद् बैठक बसेर ओलीलाई कारवाही गर्ने चेतावनी पनि दिए। उनले संसद विघटन नभएको बरु ओली सरकारको वैधानिकता सकिएको पनि दावी गरे।

“जरुरी पर्यो भने संसद् बैठक बस्छ। अपराधीलाई कारवाही गर्छौं। त्यो अधिकार संसद्लाई छ। संसद् विघटन गर्ने अधिकार संविधानमा छैन। तर, सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ”, उनले भने ।

वाम गठवन्धन र पार्टी एकतापछि मजदूर र किसानको समृद्धिको सपना देखेको प्रचण्डको भनाइ छ । किसानलाई आधुनिक प्रविधिसँग कृषि क्षेत्रको विकासका बारेमा योजना तर्जुमा गर्ने बारेमा आफूहरुले कार्ययोजना बनाएको उनको धारणा थियो।

उनले भ्रष्टाचार निर्मूल र सुशासनको प्रत्याभूति दिलाउने आफूहरुले सोचेको पनि बताए। उनले भने, “तर आज हाम्रै आँखा अगाडि आफ्नै पार्टी भित्र घुसेका प्रतिक्रियावादी एजेण्टले निर्ममतापूर्वक जनताको सार्वभौम अधिकारमाथि हमला गरेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *