प्रतिनिधिसभा विघटनमा संविधानको धारा नखुलाइएको जिकिर

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा एघारौँ दिनदेखि बहस जारी छ । आज पनि बहस गर्दागर्दै नभ्याएपछि हेर्दाहर्दैमा शुक्रबारका लागि राखिएको छ ।

विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट आज वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, तुलसी भट्ट, हरि उप्रेती, अधिवक्ता गोविन्द शर्मा (बन्दी), गोपालकृष्ण घिमिरे र रिट निवेदक स्वयंले बहस गरेका थिए थियो ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको तर्क गरे।उनले संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको जिकिर गर्दै विघटन गर्न संविधान संशोधन हुनुपर्ने धारणा राखे।

वरिष्ठ अधिवक्ता उप्रेतीले प्रतिनिधिसभा विघटनका विषयमा प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा संविधानको कुन धारालाई आधार बनाएर विघटन गरेको भन्ने नखुलाइएको बताए।

रिट निवेदक पोखरेलले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको उल्लेख गर्दै भने, “संविधान लेख्ने बेलामा नै धेरै छलफल भएको हो, प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै संविधानमा राखिएको छैन, पहिलापहिला धेरै विघटन गरेको दिक्क भएर यो संविधानमा विघटन गर्ने व्यवस्था नै नराखिएको हो, अदालतले पुनःस्थापना गर्नुपर्छ ।”

अधिवक्ता बन्दीले प्रतिनिधिसभा विघटन स्वतः भङ्ग गर्ने व्यवस्था संविधानान नभएको हुँदा पुनःस्थापना गर्न माग गरे । रिट निवेदककै तर्फबाट अदालतमा बहस जारी छ । शुक्रबार पुनः सुनुवाइ हुनेछ ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य गुरुङ, पोखरेल, श्रेष्ठ र झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *