बुटवलमा नेकपाको शक्ति प्रदर्शन

काठमाडौँ। प्रतिनिधिसभा विघटनका विरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको नेकपा (बहुमत)ले बिहीबार बुटवलमा विरोध सभा गरेको छ। विरोध सभामा ठूलो संख्यामा नेकपाका कार्यकर्ता सहभागी रहेका थिए।

सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गरेका छन्। सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई चुट्कीका भरमा फाल्न सक्ने चेतावनी दिएका छन्। उनले राजामहाराजालाई समेत फ्याँकेको जनताले ओलीलाई त्यसै नछाड्ने चेतावनी दिए।

उनले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व र विकासका लागि पार्टी एकता गरिए पनि ओलीले त्यसको मर्म नबुझ्दा समस्या आएको बताए ।

अर्का अध्यक्ष नेपालले ओली गफ गरेकै भरमा राजनीतिमा स्थापित भएको बताए। ओलीले समयको गति र प्रवाहलाई बुझ्न नसकेको भन्दै उनले गणतन्त्रको आन्दोलनमा पनि ओली लतारिएर आएको दावी गरे। २०६२/६३ को आन्दोलनका बेला ओलीले गरेको बयलगाडाको भविष्यवाणी असफल भएको थियो’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘उहाँले समयको गति र प्रवाह बुझ्न सक्नुहुन्न, उहाँ समयको पछि लतारिने मान्छे हो, त्यसैले अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ ।’

प्रधानमन्त्री ओलीका दुई विश्वासपात्र अर्थमन्त्री पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको क्षेत्रमा नेकपा (प्रचण्ड-माधव)ले ठूलो संख्यामा कार्यकर्ता उतारेर जनप्रदर्शन गरेपछि वालुवाटारलाई ठूलो धक्का लागेको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *