काठमाडौँ। आजदेखि देशैभर कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाउन शुरु गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका हुन्।
पहिलो चरणमा कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालकलगायतलाई खोप दिने सरकारको तयारी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार अभियानको पहिलो दिन देशभरका ९ हजार ८४ जनाले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले खोप अभियानमा सहभागी भइ खोप लगाउने सबैलाई धन्यवाद दिँदै तोकिएको समयभित्र पहिलो चरणको खोप कार्यक्रम सम्पन्न गर्न सरोकारवालाहरुलाई आग्रह पनि गरेको छ ।
भारत सरकारले नेपाललाई १० लाख थान खोप अनुदानमा दिएको हो।