काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष चर्काइरहेको नेकपा (बहुमत)ले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै नेकपाको केन्द्रीय संघर्ष समितिले माघ २८ गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरेको हो।
घोषित कार्यक्रमअनुसार माघ १३ गते काठमाडौँमा सिठ्ठी जुलुस निकालिने छ भने १४ देखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहित धर्ना कार्यक्रम गरिनेछ।
त्यस्तै, माघ १६ गते जुलुससहित सहिदलाई श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाइएको छ। त्यसैगरी माघ १५ गते बुटलवल, १६ विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गरिने छ ।
प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया गर्ने पनि घोषणा गरेको छ । यस्तै माघ २२ गते काठमाडौमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक,अलोकतान्त्रिक, प्रतिगामी भन्दै आएको नेकपाले संसद पुनर्स्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने बताइसकेको छ।