ओलीको अभिव्यक्ति आपत्तिजनक

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा बहस गरिरहेका अधिवक्ताहरूलाई केन्द्रीत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ ।

आइतबार वारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भर्त्सना गरेका हुन्। माघ ९ गते प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको कार्यक्रममा बरिष्ठतम बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई अपमानजनक ढंगले प्रहार गरेका थिए। ‘केही वकिलहरुले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’, ‘वकिलले कुरा फिटेका फिट्यै छन्,तर संसद पुनर्स्थापना हुँदैन’, ओलीले भनेका थिए।

प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको बार एशोसिएशनको ठहर छ । ‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्धमात्र नभएर अदालतकै मानहानी-अवहेलनाजन्य कार्यसमेत हो,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई लिएर आजै बारका चार जना पूर्वअध्यक्षहरुले पनि भर्त्सना गरेका थिए। साथाई प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्च अदालतमा उनीविरुद्ध अपहेलनाको मुद्धासमेत दर्ता भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *