ओली नेकपाको साधारण सदस्य पनि रहेनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साधारण सदस्यबाट निस्कासित भएका छन्। आइतबार बसेको नेकपा (बहुमत) को स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

यसअघि नेकपाले ओलीलाई तीन दिनको समयावधि तोकेर स्पष्टिकरण सोधेको थियो। राष्ट्र र पार्टी हितविरुद्ध गतिविधि गरेको भन्दै सोधिएको स्पष्टिकरणको ओलीले जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो। पुस ६ गते बसेको बहुमत केन्द्रीय सदस्यसहितको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्षमा मनोनयन गरेको थियो।त्यतिबेला अध्यक्षको जिम्मेवारीबाट हटाएपनि नेकपाले ओलीलाई केन्द्रीय सदस्यमा भने यथावत राखेको थियो।

प्रवक्ता श्रेष्ठका अनुसार यसअघि पार्टी अध्यक्षबाट हटाएपछि पनि ओलीले राष्ट्र, जनता, संविधान र पार्टीका विरुद्ध लगातार गतिविधि गरेकोले पार्टी विधानअनुसार उनलाई स्पष्टीकरण सोधिएको तर त्यसको जवाफ नदिएपछि आजको स्थायी कमिटी बैठकले पार्टी सदस्यबाट हटाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *