ओली नेकपाको साधारण सदस्यबाटै निस्कासित

काठमाडौ। नेकपा (बहुमत)का अध्यक्ष माधव नेपालले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्कासन गर्ने घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष नेपालले ओलीले गणतन्त्र, संघीयता र पछिल्लो राजनीतिक परिवर्तन नै मास्ने गरी संविधानमाथि प्रहार गरेको बताए।

ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै पनि गुण नभएको भन्दै उनले पार्टीबाट बिदा गर्नुको विकल्प नभएको बताएका हुन्। अध्यक्ष नेपालले ओली २०७१ सालमा एमालेको अध्यक्ष भएदेखि पार्टीमा घाँडो भएको बताए। ‘उनी एमालेमा हुँदा पनि घाँडो थिए,पार्टी एकतापछि पनि घाँडो नै भए’, उनले भने ।

पार्टी विभाजनपछि ओलीलाई अध्यक्षबाट हटाएको नेकपाले माघ ५ गते स्पष्टीकरण सोध्दै बालुवाटारमा पत्र पठाएको थियो। आफूहरुले चिठी पठाएर तीन दिनभित्र स्पष्टिकरण मागेको तर चार दिनसम्म पनि ओलीले जवाफ दिने आँट नगरेको भन्दै अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीको साधारण सदस्यबाट निस्कासन गर्ने चेतावनी दिएका हुन्।

‘तीन दिन पहिले हामीले बालुवाटारमा चिठी पठायौं। चिठी लिएर सुरेन्द्र पाण्डे र श्रीराम ढकाल पुग्नुभयो। चिठीमा स्पष्टीकरण दिनका लागि तीन दिनको समय दिइयो। उनले स्पष्टीकरण दिने आँट गरेनन्’, नेपालले भने, ‘त्यसैले म यहीबाट ओलीलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासन गर्ने घोषणा गर्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *