नेकपाको चिन्ता : शान्तिपूर्ण प्रदर्शनमा सरकारी घुसपैठ हुनसक्छ !

काठमाडौँ। प्रतिनिधिसभा विघटनका विरुद्ध सडक संघर्ष चर्काइरहेको नेकपा (प्रचण्ड-माधव) ले भोलि (माघ ९ गते) काठमाडौँमा बृहत् जनप्रदर्शन गर्दैछ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, प्रतिगामी र अराजनीतिक भनेको नेकपाले डेढ लाख कार्यकर्ता काठमाडौँ उतारेर दबाब सृजना गर्ने बताएको छ । जनप्रदर्शनलाई व्यवस्थित बनाउन नेकपाले निर्देशिका जारी गरिसकेको छ।

केन्द्रीय संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जनसभाको तयारी र आवश्यकताबारे जानकारी गराएको छ । विज्ञप्तिमा दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि ओलीले प्रहार गरेकाले देशव्यापी संघर्षमा उत्रिनु परेको बताइएको छ।

माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट जुलुस निस्कने र त्यसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्ने जनाइएको छ। विभिन्न स्थानबाट निस्केका जुलुस रत्नपार्कमा पुगेर मुख्य जुलुसमा परिणत हुने र रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपको विरोधसभामा पुग्ने बताइएको छ।

विज्ञप्तिमा मूल जुलुसको नेतृत्व र विरोध सभालाई सम्बोधन पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गर्ने भनिएको छ। त्यस्तै, विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन दुई हजार स्वयंसेवक परिचालन गरिने पनि उल्लेख छ।

नेकपाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनको आवश्यकता परेको भन्दै सबैलाई सहभागी हुन् पनि आग्रह गरेको छ।

आन्दोलनका विषयमा फ़ैल्याइएका भ्रमको पछाडि नपर्न अनुरोध गर्दै विज्ञप्तिमा विरोध शान्तिपूर्ण हुने प्रष्ट पारिएको छ। प्रदर्शनमा घुसपैठ गरि शान्तिपूर्ण आन्दोलनलाई विथोलेर अराजकता र द्वन्दतिर लैजाने सरकारी र प्रतिगामी समुहको प्रयासप्रति चिन्तित रहेको पनि विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *