नेकपा विभाजनको असर प्रदेश सभामा

काठमाडौँ। प्रदेश १ को प्रदेशसभा हिउँदे अधिवेश केही मिनेटमात्रै बसेर स्थगित भएको छ ।प्रदेश सभामा सत्तारुढ नेकपाको विभाजनको प्रभाव प्रत्यक्ष देखियो। जसका कारण बैठक मात्र तीन मिनेट बसेर स्थगित गरिएको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमपछि विभाजित बनेको नेकपाका दुवै पक्षले एक-अर्का विरुद्ध निषेधमा उत्रने रणनीति तय गरेपछि सम्भावित दूर्घटना टार्न बैठक स्थगित गरिएको बताइएको छ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुख प्रदिप कुमार भण्डारीले बैठक स्थगित भएको जानकारी दिए ।

यसअघि बैठक सुरु भएपछि दलिय आधारमा एक एक जनालाई बोल्न दिइने सहमति भएपनि दुई नेकपाका सांसदबीच भिडन्त हुने स्थिति उत्पन्न भएपछि कसैलाई पनि बोल्न नदिई बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

गत पुस १० गते नेकपाका बहुमत (३७) सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

कूल ९३ जना सांसद रहेको प्रदेश सभामा नेकपाका कूल ६७ जना सांसद छन् । जसमध्ये ४७ जना सांसद प्रचण्ड-नेपाल  पक्षमा रहेको बताइन्छ । ओली पक्षले पनि संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *