काठमाडौं । पत्रकार तथा लेखक नारायण वाग्लेले प्रतिनिधिसभा विघटनपछि संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ निरीह बनेको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेम्वाङको नाम नलिई दुई पटकका संविधानसभाका अध्यक्ष किन निरीह बने ?भन्दै प्रश्न गरेका हुन् ।
संविधान रक्षाका लागि संसद पुनर्स्थापनाको विकल्प नभएको भन्दै वाग्लेले संसद् पुनस्र्थापनाकै लागि माइतीघर मण्डलामा नागरिक आन्दोलन चलिरहेको बताए ।‘संसद् विघटन पछि माइतीघर मण्डलामा माइक समाउन पुगेको छु । नागरिक अगुवा र पेशाकर्मीहरुको नागरिक आन्दोलन चलिरहेको छ’,उनले भने ।
वाग्लेले अहिले न्यायालय समेत दबावमा परेको बताए । ‘प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने के यो लोकतन्त्र हो ?’ उनले प्रश्न गरे ।प्रतिपक्षी दलका नेताको भूमिबारे पनि उनले प्रश्न गरे । ‘प्रतिपक्षी दलको नेता किन बालुवाटारको ढोकामा बस्नुपर्यो ?’, उनले भने ।
पत्रकार वाग्लेले नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालप्रति पनि जनताको आशंका रहेको भन्दै संविधानको रक्षाका लागि नागरिक वडापत्र सार्वजनिक गर्न आग्रह गरे।