ओलीले संविधानको मुटुमै प्रहार गरे :प्रचण्ड

काठमाडौँ। नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनलाई परिवर्तन उल्ट्याउने षड्यन्त्र भनेका छन्। उनले प्रधानमन्त्री ओलीको कदम संसद विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने षड्यन्त्रको सुरुवात भएको बताएका हुन् ।

मंगलबार राजधानीमा आयोजित प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै उनले संविधानको प्रस्तावनामै मुलुकको सार्वभौम अधिकार जनतामा निहीत रहेको उल्लेख गरिए पनि ओलीले राजा-महाराजाकै शैली र भाषामा संसद विघटन गरेको बताए ।‘प्रधानमन्त्री ओलीको भाषामा राजाकै भाषा ह्वास्स गन्हाएको छ’, प्रचण्डले भने ।

प्रचण्डले अहिलेको अवस्था निकै असामान्य रहेको भन्दै प्रतिगमन र प्रतिक्रान्तिको खतरा बढिरहेकाले त्यसलाई रोक्ने प्रतिज्ञा र संकल्पसहित एकजुट भएर लाग्न पत्रकारहरुलाई आव्हान पनि गरे । राजतन्त्र पुनःस्थापना गर्ने र देशलाई अराजकताको भूमरीमा झोस्ने ओलीको प्रतिक्रान्तिको योजना जसरी पनि असफल पार्न उनले आग्रह गरे ।

केपी ओलीले पटक पटक पार्टी फुटाउन खोजेको तर आफुले धेरै अपमान सहेर पनि त्यसलाई रोकेको पनि प्रचण्डले बताए । उनले खोक्रो राष्ट्रवादको आडमा विदेशी शक्तिको योजनामा ओलीले पार्टी फुटाएको दाबी पनि गरे ।

ओलीले निर्वाचन आयोग र सर्वोच्चलाई धम्क्याउदै हिँडेको भन्दै उनले दुबैतिर सेटिङ मिलाएको भन्ने केपी गुटलाई असफल प्रयास नगर्न चेतावनी पनि दिए।

ओलीले जनताको सार्वभौम अधिकारको मुटुमै प्रहार गरेको हुँदा आफूहरूमा केहि आक्रोश र आवेग भएपनि धर्यता नगुमाएको भन्दै उनले जनमत निर्माणमा पत्रकारको भूमिका अग्रणी हुने भएकाले प्रतिगमनका विरुद्ध निरन्तर लेख्न र बोल्न आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *