काठमाडौं । नेकपा बहुमतले प्रधानमन्त्री केपी ओलीलाई थप कारवाहीको चेतावनी दिएको छ। यसअघि नै अध्यक्षको जिम्मेवारीबाट हटाएको नेकपाले पार्टी विरोधी गतिविधि जारी राखेको भन्दै ओलीलाई साधारण सदस्यबाट पनि हटाउने चेतावनी दिएको हो।
सोमबार स्पष्टिकरण सोध्दै नेकपाले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टिकरण नदिए थप कारवाही गर्ने जनाएको हो । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको छ ।
नेताहरु सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेर बुझाएको पत्रमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकोले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने ?’ भन्दै स्पष्टिकरण सोधिएको छ ।
‘यो पत्र प्राप्त गरेको वा तपाइको निवासमा टाँस गरिएको मितिले तीन दिनभित्र स्पष्टिकरण दिनुहोला । यदि तीन दिनभित्र चित्तबुझ्दो स्पष्टिकरण नदिएमा तपाइँलाई थप कारवाही गरिने व्यहोरा पनि सूचित गरिन्छ’ पत्रमा भनिएको छ ।