संविधानको हत्या गरेर ओली हाँसेर बसेका छन् : प्रचण्ड

काठमाडौं । नेकपा बहुमत (प्रचण्ड-माधव)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले सहेर बस्न नसक्ने भन्दै उनले आक्रामक हुन कार्यकर्तालाई निर्देशन पनि दिए ।

काठमाडौंको बुद्धनगरमा आयोजित राष्‍ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका हुन् । ‘केपी ओलीजीले ठूलो षड्यन्त्र गरेका छन् । संविधानमाथि प्रहार भएको छ । हामी आक्रामक हुनुपर्ने देखिएको छ’ उनले भने, ‘असंवैधानिक रुपमा संसद विघटन गरिएपछि हामी पक्कै पनि गम्भीर स्थितिमा छौँ । हाम्रो आन्दोलन पनि आवेग र आक्रोशका साथ अलिकति जुझारु हुन जरुरी छ ।’

तर, सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो । देशवासीलाई उत्सव थियो । त्यस्तो बेला बयलगाडाको कथा हाल्दै हिँड्नुभयो । अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, उनले भने ।

अहिलेको व्यवस्था नै ओलीको चाहना नभएको प्रचण्डको आरोप लगाए । ‘आन्दोलनको उत्सव चलिरहँदा उहाँ गोरुगाढाको कथा सुनाउँदै बस्नु हुन्थ्यो । आन्दोलनले गणतन्त्र ल्याउनु र गोरुगाढाबाट अमेरिका पुग्नु एउटै भन्नु हुन्थ्यो’, प्रचण्डले भने ।

ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको प्रचण्डले बताए । ‘प्रतिक्रियावादीहरुसँग साँठगाँठ भयो । त्यो अमान्य छ । घृणा गर्छौं । त्यो पतनको बाटो अस्वीकार्य छ’, प्रचण्डको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *