पर्यटक तान्न ‘सेल्फी प्वाइन्ट’

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि सौराहाका व्यवसायी आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् ।

‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिइएको छ । राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना गरिएको बताइएको छ । सो सेल्फी प्वाइन्टले त्यहाँ पुग्ने जोसुकैलाई आफ्नोतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकमध्ये युवायुवतीदेखि वृद्धवृद्धासम्म सेल्फी प्वाइन्टमा गएर फोटो खिच्ने गरेका छन् ।

सेल्फी प्वाइन्टमा फोटो खिच्दा पछाडि आकर्षकरूपमा सौराहा लेखिएको छ भने पृष्ठभूमिमा निकुञ्ज देखिन्छ । सानो लगानीमा निर्माण गरिएको भए पनि त्यहाँ पुग्ने पर्यटकले पालो कुरेरै भए पनि तस्वीर खिचाउने गरेका छन् । कतिपय पर्यटक फोटो खिच्नका लागि मात्रै भए पनि आउने गरेको रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

मङ्सिरको पहिलो साता राखिएको सो प्वाइन्टमा अहिले सौराहाको चिनारीको रूपमा विकास भएको उनले बताए  । उनका अनुसार अहिले दैनिक ३०० हाराहारी पर्यटकले सो सेल्फी प्वाइन्टमा फोटो खिच्ने गरेका छन् । उनले भने, “सेल्फी प्वाइन्टका कारण सौराहालाई विश्वमाझ चिनाउन सकेका छौँ ।” थोरै लगानीमा स्थापना गरिएको यस प्वाइन्टले पर्यटकको आकर्षण बढाएको व्यवसायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *