चन्द्रगढी। झापा, मोरङ र सुनसरीमा केही दिनदेखि चिसो अत्यधिक बढेको छ। चिसोले बालबालिका, वृद्धवृद्धा, रोगी बढी प्रभावित भएका छन्। यस्तै, बाहिर श्रम गर्ने श्रमिक जस्तै ठेला, रिक्सा, सफारी चालक, निर्माण क्षेत्रका श्रमिक पनि प्रभावित भएका छन्।
चिसो बढेसँगै ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यमा बढी प्रभाव परेको मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. पिताम्बर ठाकुर बताउँछन्।
‘दीर्घकालीनरुपमा रहेको दमका बिरामी, ज्येष्ठ नागरिकमा स्वासप्रश्वासको समस्या हुन्छ,’ उनले भने, ‘बालबालिकामा निमोनिया हुनसक्ने सम्भावना बढी हुन्छ।’
चिसोमा दमका रोगीको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले बताए। चिसोको समय रुघाखोकी, दम, निमोयिा र चिसोका कारण हुनसक्ने सबै किसिमका एलर्जीको समस्या हुनसक्ने भएकाले न्यानोमा बस्नुपर्ने डा. यादवको सुझाव छ।
प्रदेश राजधानी रहेका शहर विराटनगर लगायत प्रमुख शहर इटहरी,धरान बिर्तामोड,इलाममा बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम देखिएको छैन।