काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागीता जनाउन नपाउने गरी सोमबार उनीहरुलाई निलम्बन गरेको सो पक्षले जनाएको छ ।
निलम्बित हुनेहरुमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्की छन् ।
निलम्बनमा परेका आठै जना पार्टी र सरकारको हित विपरितका गतिबिधिमा संलग्न रहेको हुँदा प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न हुन् नपाउने गरी तीन महिनाला लागि निलम्बन गरेको बताइएको छ।
प्रचण्ड-नेपाल पक्षले आठै जनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको छ । निलम्बनको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।
प्रचण्ड-नेपाल पक्षले यसअघि राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेको थियो ।