निर्माणाधिन स्वास्थ्य चौकीमा सूचना बोर्ड

  • तारानाथ न्यौपाने

रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे, रसुवा जिल्लाको सदरमुकाम हो । यहाँ तामाङ जातिका बासिन्दाहरुको बाहुल्यता छ । यहाँका बासिन्दाहरुमा जिल्लाका अन्य दूरदराजका बासिन्दाहरुमा भन्दा ज्यादा सामाजिक चेतना विकास भएको छ । यसका लागि पञ्चायत कालमा नै स्थापना भएको सामुदायिक विद्यालयले सहयोग गरेको हो ।

धुन्चेमा अवस्थित सामुदायिक विद्यालयका साथसाथै स्वास्थ्य चौकीलगायत अन्य सरकारी भवनहरु वि.सं. २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त हुन पुग्यो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनाका साथै यसका जिल्ला कार्यालयहरु पनि स्थापना भए । यसरी स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) धुन्चे रसुवाले रसुवा जिल्लाका बृद्धिम, डाडाँगाउँ, गत्लाङ, यार्सा र धुन्चेमा स्वास्थ्य चौकीको पुनर्निर्माण गर्ने योजना बनायो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को योजना मुताविक आर्थिक वर्ष २०७५/०७६ मा बोलपत्र आव्हान भयो । बोलपत्र बमोजिम श्री किराँतेश्वर/एल.आई.के जेभी काठमाडौँले ठेक्का पर्यो । पुनर्निर्माणका लागि श्री किराँतेश्वर/एल.आई.के जेभी काठमाडौँसँग वि.सं. २०७६ जेष्ठ १० गते सम्झौता भयो । सम्झौता बमोजिम धुन्चे स्वास्थ्य चौकीको पुनर्निर्माण वि.सं. २०७७ भाद्र ९ गते सम्पन्न गर्नु पर्ने हो ।

श्री किराँतेश्वर/एल.आई.के जेभी काठमाडौँले धुन्चेमा स्वास्थ्य चौकी पुनर्निर्माण सुरु गर्न थालेका थिए । स्वास्थ्य चौकी पुनर्निर्माणको ईष्टिमेट लागत रकम कति रहेको छ ? सम्झौता रकम कति रहेको छ ? पुनर्निर्माणको नक्सा, ड्रङ्ग डिजाइन कस्तो हो ? भन्ने कुरा नागरिकले थाहा पाउने गरी प्रकाशित भएको थिएन ।

पुनर्निर्माण सुरु भएको पन्ध्र महिनासम्म पनि पुनर्निर्माणसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त हुन सकेन । जानकारी प्राप्त हुन नसकेपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाको भूकम्पछिको पुनर्निर्माणमा सदाचार कार्याक्रमअन्तर्गत रसुवा जिल्लामा निर्माणाधिन विभिन्न निजी तथा सरकारी भवनहरुको पुनर्निर्माण संरचना अवलोकन गर्ने कार्यक्रमअन्तर्गत वि.सं. २०७७ श्रावण १४ गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाले अवलोकन प्रयोजनार्थ करार गरेको इन्जिनियरसहित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), कन्सल्टेन्ट इन्जिनियर, निर्माण व्यवसायीका प्रमुख तथा प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, निर्माणाधिन कार्यालयका प्रमुख, पत्रकार सहित सरोकारवाला सम्पूर्णका उपस्थितिमा निर्माणाधिन स्वास्थ्य चौकीको संयुक्त अवलोकन, अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भयो ।

अवलोकनका क्रममा निर्माणाधिन स्वास्थ्य चौकी वा आयोजनाको सम्पूर्ण जानकारी सर्वाजनिक गरिएको विवरण वा विवरण बोर्ड राखिएको पाइएन । संयुक्त अवलोकनको सल्लाह बमोजिम मिति २०७७ श्रावण १५ गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाले जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) लाई ध्यानाकर्षणसहितको अनुरोध पत्र बुझायो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले पत्र बुझेको पाँच दिनभित्र च.नं. १२, मिति २०७७ श्रावण २० गते निर्माणाधिन स्वास्थ्य चौकीको सम्पूर्ण जानकारी सर्वाजनिक गरिएको विवरण वा विवरण बोर्डको तस्वीरसहित ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवालाई ध्यानाकर्षण भएको पत्र पठायो ।

यस्ता पहलकदमीले नीतिगत प्रबन्ध भएपनि कार्यान्वयनमा नआउने व्यवहारजन्य कमजोरी हटाउन सहयोग पुग्ने जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का इन्जिनियरको भनाई छ । गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य विश्व घलेले सूचना प्राप्त गर्ने नागरिकको अधिकार प्राप्त गर्न सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा सबै सरकारी कार्यालयले यस तर्फ ध्यान दिनु पर्ने बताए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाको पहलकदमीमा आम नागरिकको सूचना प्राप्त गर्ने हक संरक्षित भएको र निर्माणाधिन स्वास्थ्य चौकीका बारेमा सम्पूर्ण जानकारी प्राप्त भएकोमा पत्रकार महासंघ जिल्ला शाखा रसुवाले ट्रान्सपरेन्सी इन्टरनेशनल रसुवालाई सार्वजनिक सरोकारका विषयमा उपयुक्त पहलकदमी गरेकोमा धन्यवादसहित आगामी दिनमा पनि यस्तै कार्यको अपेक्षा व्यक्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *