आन्दोलनका लागि तयार रहन अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको बताएका छन् ।

जनकपुरधाममा नेकपा प्रचण्ड–नेपाल समूहले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीबाट मुलुकको परिवर्तन सम्भव नभएको पनि बताए । उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ ।”

अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि विभाजनमा पुगेको नेकपाका दुवै पक्ष अहिले सांगठन सुदृढीकरणमा छन्। ओलीको कदमलाई प्रतिगामी भन्दै आइरहेको प्रचण्ड-नेपाल पक्षले आन्दोलन र सांगठनिक गतिविधिलाई एकैसाथ अघि बढाइरहेको छ।

रक्षात्मक स्थितिमा रहेको ओली पक्ष पनि आक्रमक रुपमा संगठन विस्तारमा लागेको छ। एकीकृत नेकपाका झन्डै दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड-नेपालतिर लागेका छन्। दुवै पक्षले आफैं आधिकारिक पार्टी दावी गरिरहेका बेला निर्वाचन आयोगले गर्ने निर्णयलाई चासोसाथ हेरिएको छ। नेकपा विवाद निर्वाचन आयोगमा पुगिसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *