नेप्से लगातार उकालोमा : बजार पूँजीकरण ३० खर्ब नाघ्यो

काठमाडौँ। साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेर नेप्से पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ७.२१ ले उकालो लागेर ४२८.४३ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ मूल्यमा खरीदबिक्री भए । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख ४० हजार बराबर पुगेको छ । मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनको नजीकनजीक बजार पूँजीकरण हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको शेयर मात्रै ओरालो लागेको छ ।

कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *