खैरो हेरोइनसहित व्यापारी पक्राउ 

काठमाडौँ । लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित एक व्यापारी विराटनगरबाट पक्राउ परेका छन् । झापाको गौरादह नगरपालिका–८ स्थायी ठेगाना भएका व्यापारी ३६ वर्षीय किसन अग्रवाल आइतबार लागुऔषधसहित पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगर महानगरपालिका–१३ नहरनजिकबाट उनलाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो ।

उनको साथबाट मे १ च ५८६२ नम्बरको सेतो कार पनि बरामद भएको छ । उनी पक्राउ पर्नु एक घण्टाअघि नेपाल–भारत सीमा क्षेत्र पुगेका थिए । नेपालतिरै कार पार्किङ गरेर भारतको जोगवनी बजारतिर लागेका उनी फर्कदा भने लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार व्यापारी अग्रवालका साथबाट तीन ग्राम एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

ज्याकेटको गोजीभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिमाणमा ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ । जोगवनीबाट फर्किएपछि पार्किङ गरेर राखेको कारमा चढेर उनी उत्तर विराटनगर बजारतर्फ आउँदै थिए । बीचैमा रोकेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला परेको थियो ।

‘धनाड्य व्यापारी विराटनगरको बाटो हुँदै लागुऔषध खरिद गर्ने योजना बनाएर कारमा झापाबाट हिँडेको सूचना थियो,’ प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धान गर्दा लागूऔषध भेटियो ।’

अग्रवाल यसअघि पनि भारतको पूर्णियामा लागुऔषधसहित पक्राउ परेका थिए । पाँच वर्षअघि पक्राउ परेका उनी तीन महिनासम्म प्रहरी हिरासतमा बसेका थिए । हिरासतमा परे पनि उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा भारतीय प्रहरीले चलाएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *