कृषि उत्पादनमा बिचौलिया हाबी

झापा। किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु ३० का दरले फर्सी र रु ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर टाढा रहेको भद्रपुर र चन्द्रगढी बजारमा फर्सी प्रतिकेजी रु ७० र बोडी रु ९० का दरले बिक्री हुने गरेको छ ।

उत्पादक किसान र उपभोक्ताबीचमा दोब्बर मुनाफा राखेर बजारमा तरकारी बिक्री हुँदै आएता पनि कुनै निकायले यसको अनुगमन गरेको छैन । बिचौलिया हाबी हुँदा मूल्य नाजायज ढङ्गले बढाइएको छ । त्यसको लाभ पाउनबाट वास्तविक किसान र उपभोक्ता वञ्चित छन् । झापामै ठूलो परिमाणमा व्यावसायिक तरकारी खेती गर्ने मामा भाञ्जा कृषि फार्मले वार्षिक नौ हजार मेट्रिक टन बेमौसमी तरकारी उत्पादन गर्दै आएको जनाएको छ । बिचौलियाको हातमा उत्पादन बेच्नुपरेको कारण मनग्य फाइदा उठाउन नसकिएको फार्मका सञ्चालक निर्मल अधिकारी बताउछन् ।

“बजारीकरणको समस्या छ, आफैँले बेच्न लैजान सकिदैन”, उनले भने, “बाध्य भएर बिचौलियालाई दिनुको विकल्प छैन, उनीहरुले बजारमा बेच्ने मूल्यभन्दा आधा मात्र दिन्छन् ।” सो फार्मले अर्जुनधारा, मेचीनगर र भद्रपर नगरपालिकामा ३० बिघा जमीन लिजमा लिएर लहरे तरकारी खेती गर्दै आएको छ । भद्रपुर–४ गौशाला नजिक १६ बिघा जमीनमा फार्मले यति बेला फर्सी, करेला, काक्रा, बोडी, टमाटर, सिमीलगायत तरकारी लहलह फलाएको छ ।

फार्मबाट किनेर ल्याएको फर्सी प्रतिकेजी रु ७० ले बेच्ने गरेका भद्रपुरका खुद्रा व्यापारी श्यामनारायण साहले खरिद मूल्य रु ६० पर्ने गरेको दाबी गरे । “हामीले बिचौलियासँग प्रतिकेजी रु ६० का दरले फर्सी किन्छौँ”,उनले भने, “रु १० मार्जिन राखेर बिक्री गर्दा अलिकति महङ्गो भइहाल्छ नि ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *