काठमाडौँ। मोटरसाइकल दुर्घटनामा घाइते भएका पत्रकार कृष्ण थापालाई नेपाल प्रेस युनियनले आर्थिक सहयोग गरेको छ । नुवाकोटमा पुस २० गते दुर्घटना परी गम्भीर घाइते भएका थापाको उपचारका लागि युनियन युरोप शाखाले उठाएर पठाएको रु ३१ हजार बिहीबार हस्तान्तरण गरिएको हो ।
युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेलको अगुवाईमा सङ्कलित उक्त रकम आज युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय सदस्य युवराज गौतमले घाइते पत्रकार थापाकी श्रीमतीलाई हस्तान्तरण गरे ।
युनियन रसुवाका पूर्वअध्यक्ष एवं कान्तिपुर सम्वाददातासमेत रहेका पत्रकार थापाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
युनियनले आर्थिक अवस्था कमजोर भएका थापाको उपचारमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेको छ । घाइते पत्रकार थापाको आगामी मङ्गलबार खुट्टाको शल्यक्रिया हुँदैछ ।