एशियन बफेलो कँग्रेस नेपालमा

चितवन। विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दशौँ एशियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो ।

एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटि रहेका छन् ।

हरेक तीन–तीन वर्षमा हुने महासभा पहिलोपटक नेपालमा हुन लागेको हो । एशोसिएशनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा भूमिनन्द देवकोटा रहेका छन् । जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ । देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो । सोही ठाउँमा एशोसिएशनको सचिवालय रहेको छ ।

एशोसिएशन सन् १९९२ मा स्थापना गरिएको हो । संसारभरिका भैँसीविज्ञको साझा संस्था इन्टरनेशनल बफेलो फेडेरेसन हो । फेडेरेसनको सचिवालय इटालीको रोममा छ । सोही फेडेरेसनअन्तर्गतको एशियाका वैज्ञानिकको संस्था एशियन बफेलो एशोसिएशन हो ।

महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ । महासभामा भैँसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्व वृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभव आदानप्रदान गरिने देवकोटाले जानकारी दिए ।

विश्वमा भएका भैँसीमध्ये ९२ प्रतिशत भैँसी एशियामा पाइन्छन् । त्यसमध्ये सबैभन्दा बढी भारत, पाकिस्तान, चीनहुँदै चौथोमा नेपाल पर्दछ । नेपालमा भैँसीको सङ्ख्या ५२ लाखभन्दा बढी भएको तथ्याङ्क छ । भैँसी दूध र मासुका लागि महत्वपूर्ण मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *