संसदीय व्यवस्था मात्र लोकतन्त्र होइन :डा भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा वाबुराम भट्टराईले लोकतन्त्रको परिभाषालाई संकुचित बनाउन नहुने बताएका छन्। संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्थालाई मात्र लोकतन्त्र ठान्ने कुरा गलत भएको बताएका हुन्।

नेकपाको केन्द्रीय संघर्ष समितिले बुधबार विभिन्न राजनैतिक दलहरुसंगको आन्तार्क्रिया कार्यक्रम राखेको थियो। सो कार्यक्रममा आफ्ना भनाइ राख्दै डा भट्टराईले भने, ‘चिसो भनेकै कोकाकोला भने जसरी संसदीय पद्धतिलाई नै लोकतन्त्र भनेर प्रचार गरिएको छ, त्यो गलत हो।’

डा भट्टराइले नेपालले अहिले अपनाएको शासन प्रणाली पुरानो बेलायती मोडलको नभई सुधारिएको संसदीय व्यवस्था भएको पनि बताए। संविधान निर्माण गर्दाको सन्दर्भ उल्लेख गर्दै उनले तत्कालीन माओवादी संसदीय व्यवस्थाको कट्टर विरोधी हुँदाहुँदै पनि संविधान बनाउनै पर्ने बाध्यताका कारण सुधारिएको संसदीय प्रणालीका पक्षमा सहमत भएको प्रष्ट्याए ।

उनले भने, ‘हाम्रो त प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्छ भन्ने नै थियो। तर अन्य दलहरुसंग कम्पर्माइज गरेर उन्नत खालको संसदीय प्रणालीका पक्षमा सबै सहमत भएका हौँ।’

उनले केपी ओलीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उक्त कदम संविधानमाथि कू भएको बताए। ‘कतिपयले यसलाई असंवैधानिक कदम भनेका छन्, तर यो कुनै पनि संविधानको धारामा टेकेर गरिएको होइन त्यसैले यो असंवैधानिक नभई संविधानमाथिको कू हो’, भट्टराईले भने।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले ओलीको प्रतिगामी कदमका विरुद्ध संयुक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *