घरबासले फेरियो जीवन

काठमाडौँ । घरधन्दामा मात्रै सीमित हुने गरेका स्याङ्गजा गलकोटका महिलाहरुको घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको छ । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको घरबासका महिला सञ्चालकहरु बताउँछन् ।

जिल्लामा सञ्चालित २८ सामुदायिक घरबासमा महिलाको सक्रियता बढी छ । सामाजिक कार्यमा सहभागी नभएका महिलाहरु घरबास सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटनको विकासमा लाग्न समेत थालेका छन् ।

शुरुमा घरबास सञ्चालनबारे अनभिज्ञ रहेका महिलाहरु आफ्नो दैनिकीसँगै घरबासमा आएको पाहुनाको स्वागत तथा सत्कारमा जुट्ने गरेका छन् । घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिलाहरु घरबास सञ्चालनसँगै आर्थिकरूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक माया श्रीसले जानकारी दिइन् ।

बेलढुङ्गामा आएका पर्यटकहरुले खान बस्नको राम्रो प्रबन्ध खोज्न थालेपछि महिलाहरुको अगुवाइमा घरबास सञ्चालनमा ल्याएको बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले बताए ।

जनजातिको बाहुल्य रहेको बागलुङका विभिन्न स्थानमा घरबास फस्टाउँदै गएका छन् । जिल्लाको पहिलो घरबासका रूपमा रहेको पर्यटकीय गाउँ भकुण्डेमा अहिले दुई घरबास छन् । यहाँका महिलाहरुले घरायसी कामबाहेक घरबास सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको घरबासका सञ्चालक अप्सरा थापाले बताइन् ।

विसं २०६९ मा खुलेको बागलुङको पहिलो घरबास अथिति सत्कार घरबासले बागलुङमा घरबासको अवधारणा ल्याएको थियो । त्यसपछि घरबास सञ्चालन गर्ने अधिकांश महिलाहरुको जीवनमा उल्लेख्य परिवर्तन आउन थालेको सञ्चालकहरुले नै बताउँदै आएका छन् ।

घरबासले समयको व्यवस्थापन, सामाजिक भावनासँगै आर्थिक उपार्जन तथा गाउँको प्रचारप्रसारको माध्यम बन्दै गएको अर्का सञ्चालक रजिकला श्रीसले बताइन् । शुरुमा बोल्नसमेत लजाउने धम्जाका महिलाहरु अहिले नाचगान गर्ने पाहुनालाई मनोरञ्जन दिन थालिसकेका छन् ।

दुई वर्ष अघिदेखि सञ्चालनमा आएको बेलढुङ्गा सामुदायिक घरबास १२ घरमा सञ्चालित छ । एकै रातमा ५० भन्दा बढी पाहुना राख्ने क्षमता घरबाससँग रहेको छ । घरबासमा आलुका विभिन्न परिकार, कोदोको सेल, कोदोको ढिँडो, लोकल खसी बोका, लोकल कुखुरा, सिन्की, भट्ट, मकैलगायतका घरबासमा मुख्य परिकार हुन् ।

घरबास सञ्चालकहरुले पाहुनालाई सालैजो, यानीमाया, ठाडो भाकालगायतका विभिन्न गीत तथा नाचले स्वागतसमेत गर्दै आएका छन् । घरबास नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा भएको हुँदा यहाँ घुम्न आउने पर्यटकहरु सिधै घरबासमा आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *