काठमाडौँ। नेपालमा हालसम्म ९७ प्रतिशत भन्दा बढी कोरोना भाइरसका संक्रमित बिरामी निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत बुधबारदेखि आज (आइतबार)सम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । सो अवधिमा तीन हजार १८२ जना सङ्क्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा उपत्यकामा १९७जनामा संक्रमण देखिएको छ। जसमा भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६० जना छन् ।
गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । गत बुधबारदेखि आजसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ ।