काठमाडौँ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । कांग्रेस केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकले ओलीको कदमका विरुद्ध वडास्तरसम्म विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको हो ।
बैठकले पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने, आगामी माघ ३ गते देशैभरका ७५३ पालिकामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
यसैगरी बैठकले माघ ८ गते देशैभरका ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ । उल्लेखित कार्यक्रमबाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रम आयोजना गर्न सक्ने उनले जानकारी दिए । पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रमबाहेक अन्य विरोधका कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ ।
यसअघि हिजो मात्रै प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले पनि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो। दुवै दलले पहिलो चरणको आन्दोलन गरिसकेका छन्।