काठमाडौँ । रसुवाको आमाछोदिङमो गाउँपालिका-५ चिलिमेमा निर्माणाधीन साञ्जेन खोला जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका जनताको चासो र गुनासोलाई अवमूल्यन गरेको भन्दै स्थानीयले बिभिन्न मागसहित आन्दोलन घोषणा गरेका छन्।
साञ्जेनखोला संघर्ष समितिले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै योजनाले पटक-पटक गरेका लिखित र मौखिक सम्झौता कार्यान्वयन नगरेको भन्दै आयोजनाका कामहरु अनिश्चितकालका लागि बन्द गर्ने जानकारी गराएको हो ।
आयोजना प्रभावित स्थानीयले पटक पटक उठाउँदै आएका जायज मागहरुप्रति आयोजनाका तर्फबाट बेवास्ता भएको उनीहरुको आरोप छ। ‘आयोजनासंग प्रभावित स्थानीयबीच मुआब्जा तथा बिभिन्न मागहरुको बारेमा बिभिन्न चरणमा लिखित तथा मौखिक सम्झुता भएको सर्वबिधितै छ’, विज्ञप्तिमा भनिएको छ, हालसम्म कुनै पनि सम्झौता सम्बोधन नभएकाले सुनिस्चित सम्बोधन नभएसम्म आजैदेखि अनिश्चित समयको लागि हाइड्रोपावरको सम्पूर्ण कार्यहरु बन्द गरिने ब्याहोरा जानकारीका लागि अनुरोध छ। ‘
आयोजनाले भने बिबिध कारणले स्थानीयको माग सम्बोधन गर्न नसकेको स्वीकार गर्दै माग पूरा गर्नका लागि तयारी स्वरूप थप दुई महिना समय मागेको छ।
यस्ता छन् स्थानीयका मागहरु
- आयोजनाको सडकबाट क्षेती भएको जग्गाहरुको यथाशिघ्र मुआब्जा र क्षेतिपूर्ति दिनुपर्ने। मुआब्जा दिँदा अन्य जलबिध्युत कम्पनीहरुको चलनचल्ती अनुसार दिनुपर्ने .
- आयोजना प्रभावित वडाका सबै स्थानीयलाई पायक पर्ने ठाउँमा सुविधायुक्त अस्पताल निर्माण गरि आवश्यकता अनुसारको चिकित्सक र कर्मचारीको व्यवस्था गर्नुपर्ने।
- सामाजिक उत्तरदायित्वका कार्यहरु यथाशिघ्र पूरा गर्नुपर्ने।
- बास्केट फन्डको व्यवस्था गर्नुपर्ने।
- प्रभावित स्थानीयलाई रोजगारीको सुनिस्चितता गर्नुपर्ने।
- प्रभावित वडाका बासिन्दालाई अहिले नै शेयरको सुनिस्चितता गर्नुपर्ने।
- प्रभावित स्थानीयलाई निशुल्क बिजुलीको व्यवस्था गर्नुपर्ने।
- बिग्रेको खर्क र चरिचरनको वैकल्पिक व्यवस्था गर्नुपर्ने।
- बन जंगलको संरक्षण तथा वृक्षारोपण गर्नुपर्ने।
- वातावरण प्रदूषणलाई नियन्त्रण गर्नुपर्ने।
- बिग्रेका पुराना गोरेटो बाटो मर्मत गर्नुपर्ने।
- सडकको नाली र उक्त नालिबाट बगेको पानी उचित ठाउँमा मात्र निकाश गर्नुपर्ने अन्यथा खेतीयोग्य जमिन निक्सान हुन् गएमा त्यसको जिम्मेवारी आयोजनाले व्यहोर्नुपर्ने।
- एम्बुलेन्स खरिद गरि दिनुपर्ने।
- कर्मचारीलाई अन्य जलबिधुत कम्पनीको विनियम अनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने।