नेकपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपा (बहुमत)ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

घोषित कार्यक्रममा पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलन गर्ने जनाइएको छ ।कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । सँगसँगै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिनेछ ।

नेकपा (बहुमत)ले पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग अन्तर्क्रिरया कार्यक्रम गर्ने, २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया गर्ने र २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइने कार्यक्रम तय गरेको छ । विरोध पत्रको साथमा संविधानको पुस्तक दिने र क्षमायाचना गर्न र गलत कदम सच्याउन अनुरोध गर्ने पनि भनिएको छ।

त्यसैगरी पुस २६ गते सडक संविधान बाचन–ब्याख्या कार्यक्रम गरिनुका साथै पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम राखिएको छ । पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्याली निकालिने छ ।

यस्तै माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ भने २२ गते देशव्यापी मसालजुलुस गरिनेछ ।माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिने जनाईएकोछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको विरोधमा सडक संघर्षमा आएको नेकपा (बहुमत)ले यसअघि नै पहिलो चरणको विरोध कार्यक्रम सम्पन्न गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *