- देवेन्द्र किशोर
चन्द्रगढी। विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट अवैध भारतीय रुपैयाँ (भारु)सहित एक जना पक्राउ परेका छन्। प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार साँझ अवैध भारुसहित भारतीय नागरिक सुजित कुमारलाई पक्राउ गरेको हो।
२५ वर्षीय सुजित कुमार भारत अररीयाका हुन् । उनलाई पाँच सय दरका अवैध भारतीय नोटसहित साँझ ५ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए। उनका अनुसार पक्राउ परेका सुजितको साथबाट पाँच सय दरका एक सय चारवटा भारतीय नोट फेला परेका छन्।
सुजितको साथबाट जम्मा ५२ हजार भारतीय रुपैयाँ बरामद भएको थापाले बताए। नेपालमा पाँच सय दरका भारतीय नोट बोक्न प्रतिबन्ध छ। प्रतिबन्धित नोट साथमा बोकेर अवैध रुपमा नेपाल प्रवेश गरेको पाइएपछि पक्राउ गरिएका सुजितलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाइने प्रनि थापाले जानकारी दिए।
पक्राउ परेका युवाले भने आफू नयाँ वर्ष मनाउन पैसा बोकेर नेपाल आएको बताएका छन्। उनले घुमफिरका लागि पोखरासम्म पुग्ने आफ्नो योजना रहेको पनि प्रहरीलाई सुनाएका छन्। तर कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सीमा नाका लामो समयदेखि सिल छ।
दुवै देशमा आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउँदै नाका सिल गरिएको अवस्थामा प्रतिबन्धित नोट बोकेर भारतीय युवा नेपाल छिरेका हुन्। प्रहरीले भने नाका सिल भएको अवस्थामा नयाँ वर्षमा घुमफिर गर्ने बाहना बनाउँदै अवैध हुन्डी कारोबारको पैसा बोकेर उनी नेपाल आएको हुनसक्ने आशंका गरेको छ।