सेनाको रहस्यमय मृत्यु, पूर्वी पृतना अगाडि प्रदर्शन

  • देवेन्द्र किशोर

काठमाडौँ । छ महिनाअघि सेनाको २ नम्बर वाहिनी हिले धनकुटामा सेनाका मेजर हवल्दारको मृत्यु शंकास्पद भएको भन्दै मृतकका आफन्तहरुले इटहरीस्थित पूर्वी पृतना हेटक्वाटर अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सेनाले नै हत्या गरेको भन्दै प्लेकार्डसहित प्रदर्शनमा आएका आफन्तहरुले  ‘नेपाली सेना मुर्दावाद’को नारासमेत लगाए । जेठ ५ गते गम्भिर घाइते भएर १२ गते बिएमसी अस्पताल विराटनगरमा मृत्यु भएका सेनाका हवाल्दार सुनसरी रामधुनी वडा नं. ३ का पर्शुराम भट्टराईकी श्रीमती कमलाले घटना शंकास्पद भएको जनाउँदै सेनाका तत्कालिन वाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी दिए पनि अनुसन्धान नभएको भन्दै आपत्ति जनाइन् ।

३८ वर्षीय पर्शुराम २ नम्बर बाहिनीमा जेठ ५ गते राति अचेत भईं लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएको छ। यद्यपि अस्पताल भर्ना गरेपछि मात्र परिवारका सदस्यले घटनाबारे जानकारी पाएका थिए। त्यसैले घटना रहस्यमय भएको भन्दै परिवार र आफन्तले लामो समयदेखि आन्दोलन गदै आएका छन् । आन्दोलनमा आएका मृतकका आफन्तहरुलाई पृतना अगाडिबाट हटाउन खोजेपछि मृतककी श्रीमती कमलाले सडकमै सुतेकी थिइन्।

पर्शुराम बिरामी परेको सूचना आएपछि परिवारका सदस्य अस्पतालमा गएर हेर्दा टाउँको देब्रेपट्टि कन्चट नजिक गम्भिर चोट लगेर भित्रपट्टि हड्डी फुटेजस्तो चोट देखिएको मृतक आफन्तहरुको आरोप छ । दुवै आँखामा निल डाम, दाहिने हात, घुडालगायत शरिरको विभिन्न भागमा थुप्रै ठाउँ चोट लागेर अचेत भई भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा फेला परेको भन्दै हत्या भएको आरोप लगाउँदै आएका छन् । यसअघि पनि पृतना अगाडि आफन्तहरुले प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *