अबको आश अदालत

काठमाडौँ। संसद विघटनको मुद्धमा सर्वोच्च अदालतले कस्तो फैसला गर्ला भन्ने बिभिन्न अड्कलबाजी भैरहेका बेला पूर्वराष्ट्रपति रामवरण यादवले आदालतले न्याय दिनेमा आशावादी हुनुपर्ने बताएका छन्।अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको भन्दै उनले अरुलाई पनि आशावादी हुन् आग्रह गरेका हुन्।

प्रधानमन्त्री केपी ओलीले संसद विघटनको ‘असंवैधानिक’ कदमका विरुद्ध सर्वोच्चमा ११ वटा रिट परेका थिए। रिटउपर संवैधानिक इजलासमा सुनुवाई पनि सुरु भैसकेको छ। अदालतले सरकारका नाममा कारण देखाउ आदेश दिइसकेको छ। संसद विघटनको निर्णयप्रति असन्तुष्ट रहेका यादवले सर्वोच्चले न्याय दिने (संसद पुनर्स्थापना गराउने)भरोषा देखाएका हुन्।

बिहीबार तेज–तीर्थ ट्रष्टले काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पू्र्वराष्ट्रपति यादवले भने, “सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”,

यादवले अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको भन्दै आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान पनि गरे ।

बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ छ । अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएकोमा चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे ।

“अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा यादवले भने, “अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ । ” स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उहाँले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *